दफा ३८
कामदार वा कर्मचारीको पूर्ति
 (१) अनुमतिपत्रवालाले उद्योगको लागि आवश्यक पर्ने कामदार वा कर्मचारी नेपाली नागरिकबाट पूर्ति गर्नु पर्नेछ ।
(२)  अनुमतिपत्रवालाले उपदफा (१) बमोजिम कामदार वा कर्मचारी पूर्ति गर्दा सार्वजनिक रुपमा विज्ञापन प्रकाशन गरी पदपूर्ति गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सार्वजनिक रुपमा विज्ञापन प्रकाशन गर्दा कुनै खास विशेष दक्षता आवश्यक पर्ने प्राविधिक पदमा त्यस्तो दक्षता भएको नेपाली कामदार वा कर्मचारी उपलब्ध हुन नसकेमा अनुमतिपत्रवालाले सोको आधार र कारण खुलाई गैर नेपाली नागरिकलाई कामदार वा कर्मचारीको रुपमा नियुक्ति गर्ने सम्बन्धमा स्वीकृतिको लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा उद्योगको लागि नेपाली कामदार वा कर्मचारी उपलब्ध हुन नसक्ने देखिएमा प्राधिकरणले विशिष्ट प्रकारको दक्ष प्राविधिक कामदार वा कर्मचारी भए बढीमा सात वर्ष र सो बाहेक अन्य प्राविधिक कामदार वा कर्मचारी भए बढीमा पाँच वर्ष गैर नेपाली नागरिकलाई काममा लगाउने स्वीकृति दिन  सक्नेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यवस्थापकीयस्तर र अत्याधुनिक प्रविधि (स्टेट अफ आर्ट) सँग संलग्न कामदार वा कर्मचारीको हकमा प्राधिकरणले उपदफा (४) मा उल्लिखित अवधि भन्दा बढी अवधिभर गैर नेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन   सक्नेछ ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “व्यवस्थापकीयस्तर” भन्नाले कुनै उद्योगको क्रियाकलापको सम्बन्धमा अन्तिम निर्णय लिने व्यक्ति सम्झनु पर्छ र सो शब्दले उद्योग वा सो सम्बन्धी क्रियाकलापका सम्बन्धमा अन्तिम जिम्मेवारी वा अधिकार प्रयोग गर्न पाउने गरी उद्योगको कुनै भाग वा एकाइको प्रमुख पदमा नियुक्त भएको व्यक्तिलाई समेत जनाउँछ ।
(६)   गैर नेपाली नागरिकलाई काममा लगाउने अनुमतिपत्रवालाले नेपाली नागरिकलाई तोकिए बमोजिम क्रमशः दक्ष बनाई प्रतिस्थापन गर्नु पर्नेछ ।